युवामञ्च २०६६ असोज
नेपाल पर्यटन वर्ष २०११ का चुनौती
देवेन्द्र अर्याल 'आँसु'
नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०११ लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरिसकेको छ तर सरकारको उक्त घोषणालाई मूर्तरूप दिन विभिन्न कठिनाइहरू चुनौतीका रूपमा खडा भएका छन् । नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन सन् २००७ को पर्यटकको सङ्ख्यालाई दुईगुणा वृद्धि गर्नुपर्ने देखिन्छ । देशमा विद्यमान अस्थिर राजनीतिक परिवेश, बारम्बारको बन्द, हड्ताल, चक्काजाम एवं वर्तमान समयमा गुजि्ररहेको सङ्क्रमणकालीन अवस्थाका कारण लक्ष्यअनुरूपको सङ्ख्यामा पर्यटक भित्र्याउन पर्यटकीय पूर्वाधारको पनि विकास गर्नुपर्ने देखिन्छ । त्यस्तै, नवीन पर्यटकीय स्थलको खोजी गरी त्यसको प्रचारप्रसार गरी अत्यावश्यक भौतिक पूर्वाधारको पनि व्यवस्था गर्नुपर्दछ ।
नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २००७ मा ५२ लाख ६७ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २००८ मा यो सङ्ख्या बढ्नुपर्ने थियो तर त्यो घटेको देखिन्छ । सन् २००८ मा भने पाँच लाख १४ हजार पर्यटक भित्रिएका थिए । जबकि नेपाल सरकारले सन् २०११ मा १० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न त्यति सहज भने छैन । त्यसका लागि हवाई यातायातको सङ्ख्या वृद्धि र नयाँ पर्यटकीय स्थलको खोजी गरिनु पनि प्रमुख हो । त्यस्तै होटल र दक्ष जनशक्तिको पनि उल्लेख्य वृद्धि गर्नुपर्दछ । नेपाल पर्यटन तथ्याङ्क २००७ अनुसार नेपालमा हवाई मार्गबाट ३६ लाख र स्थल मार्गबाट १६ लाख पर्यटक नेपाल आएको देखिन्छ । त्यसैले हवाई सेवालाई विस्तार र प्रभावकारी बनाउने हो भने पर्यटन वर्ष २०११ अवश्य पनि सार्थक बन्न सक्दछ । हाल सञ्चालित हवाइ सेवाले लक्ष्यप्राप्तिको आधारमात्र पूर्ति हुने हुँदा हाल भएको उपलब्ध हवाई सेवासुविधालाई दोब्बर वृद्धि गर्नुपर्ने देखिन्छ ।
पर्यटन वर्ष सफल बनाउन हवाई यातायातसँगै होटल सङ्ख्या पनि अपुग भएकोले त्यसतर्फ पनि सरकारले उचित कदम चाल्नु पर्दछ । त्यसैले पोखरा, चितवन, नेपालगञ्ज, भैरहवा, पाल्पा, वीरगञ्ज, विराटनगर आदि महìवपूर्ण स्थानमा पर्यटकका लागि सुलभ होटलको प्रशस्त व्यवस्था गर्नु पर्दछ । हालरहेका होटल पर्याप्त नहुने भएकोले पर्यटन वर्ष सफल बनाउन थप ४२६ वटा होटल बढाउनुपर्ने देखिन्छ भने १० लाख ९० हजार दक्षजनशक्तिको आवश्यक पर्दछ । त्यसैले नेपाल पर्यटन वर्ष सार्थक बनाउन नेपाल सरकार र अन्य क्षेत्रको लगानी पनि यसमा उत्साहप्रदरूपले हुनुपर्ने देखिन्छ । सन् २००८ मा पर्यटन उद्योगका लागी नेपाल सरकार १४ अर्ब तथा निजी क्षेत्रबाट १० अर्ब लगानी भएको छ । बेला बेलामा हुने बन्द, हड्ताल र आन्दोलनका कारण पर्यटकलाई आवश्यक झन्झट र असुविधा हुँदा नेपालका बारेमा विश्वमा अझै नकारात्मक सन्देश नै प्रवाहित भएको देखिन्छ । त्यसैले राजनीतिक प्रतिबद्धता र स्थिरता हुने हो भने नेपाल पर्यटन भ्रमण वर्ष अवश्य नै सफल हुनेछ र लक्ष्यप्राप्त गर्न सकिने छ ।
नेपालमा रहेका कैयन् पर्यटकीय स्थलहरू अझै पनि ओझेलमा छन् । त्यसैले त्यस्ता पर्यटकीय स्थललाई संरक्षण, सम्बर्धन गरी प्रचार प्रसार गरेर त्यसलाई पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्ने देखिन्छ । अपार सौन्दर्य भएका कैयन् प्राकृतिक स्थल, सांस्कृतिक विविधता भएका ग्रामीण वस्तीहरूको संरक्षण, प्रचारप्रसार एवं विकास गर्न सकेमा पर्यटकहरू त्यसतर्फ आकषिर्त नहोलान् भन्न सकिन्न । त्यसैले अत्यावश्यक भौतिक पूर्वाधारको व्यवस्था गरी, शान्तिसुरक्षा, शौचालय, सञ्चार आदिको उचित व्यवस्थापन गर्न सके नेपालमा पर्यटन व्यवसायको भविष्य राम्रो हुनेछ । अत्वाश्यक भौतिक पूर्वाधारहरूको अभावमा पर्यटन व्यवसाय फस्टाउन मुश्किल पर्दछ । यसलाई व्यवस्थित गर्न पहिले प्राथमिकता सरकारको हो । नेपालमा पर्यटन व्यवसायको प्रचुर र दीर्घकालीन सम्भावना भएकोले यसलाई व्यवस्थित गर्नुपर्ने सम्बन्धित क्षेत्रका विज्ञहरूको राय छ ।
No comments:
Post a Comment