डकुमेन्ट स्वतन्त्रता
यही मार्च २६ गतेका दिनलाई विश्व डकुमेन्ट स्वतन्त्रता दिवसको रुपमा मनाइँदै छ। विश्वभर भइरहेको खुला तथा स्वतन्त्र सफ्टवेयरको अभियान तथा कम्प्युटरमा स्वतन्त्रताको सम्बन्धी चेतनामा अभिबृद्धि आइरहेको अवस्थामा कम्प्युटर प्रयोगकर्ताहरूले कम्प्युटरमा प्रयोग गरिने डकुमेन्टमा पनि स्वतन्त्रता खोज्न थालेका छन्। तर वास्तवमा यो डकुमेन्ट स्वतन्त्रता (अर्थात्, document freedom) के हो त, यो कसरी प्राप्त गर्ने र यसका के के फाइदाहरू छन्। यस विषयमा केही छलफल गरौं।
डकुमेन्ट स्वतन्त्रता भन्नाले आफूले प्रयोग गर्ने कुनै पनि कम्प्युटरका डकुमेन्ट कुनै सफ्टवेयर वा प्रणालीमा बाँधिएर बस्नु नपर्ने, तथा त्यस्ता डकुमेन्टलाई कम्प्युटरमा भण्डारण गर्न प्रयोग गरिने तरिका खुला हुने अवस्थालाई जनाउँछ। सबैभन्दा राम्रो उदाहरणको रुपमा हामी कम्प्युटरमा केही लेख्न तथा भण्डारण गर्न प्रयोग हुने माइक्रोसफ्ट को वर्ड सफ्टवेयरले बनाउने .doc फाइललाई लिन सक्छौ। यस माइक्रोसफ्ट वर्डले हामीले लेखेको कुरा कम्प्युटरमा .doc फाइलका रुपमा कसरी राख्ने गर्छ, वा त्यस .doc फाइलमा हामीले लेखेको कुन तरिकाले भण्डारण गरिएको हुन्छ भन्ने हामी मध्ये धेरैलाई लाग्न सक्छ। तर सत्य के हो भने त्यस .doc फाइलमा हामीले लेख्ने गरेको कुरा कसरी राखिन्छ भन्ने कुरा पूर्ण रुपमा माइक्रोसफ्ट बाहेक कसैलाई पनि थाहा छैन। .doc फाइल को आन्तरिक बनावट तथा यस सम्बन्धी प्रविधि पूर्ण रुपमा गोप्य राखिएको छ। यस्ता फाइलहरू स्वतन्त्र डकुमेन्ट भित्र पर्दैनन्। .doc को सट्टामा .odt (अर्थात् Open Document Text) जस्ता लेखेको कुरा कम्प्युटरमा भण्डारण गर्ने पनि फाइल प्रणालीहरू रहेका छन् र यस्ता प्रणालीको काम गर्ने सम्पूर्ण तरिका खुला रुपमा इन्टरनेटमा राखिएको छ। यसकारण .odt प्रणालीलाई खुला डकुमेण्ट प्रणाली भन्न सकिन्छ। र यस्ता प्रणालीको प्रयोग गरि लेखिएको डकुमेन्टलाई स्वतन्त्र डकुमेन्ट भन्ने गरिन्छ।
बन्द डकुमेन्टमा यसको आन्तरिक कार्य गर्ने तरिका गोप्य हुने भएकाले गर्दा यस्ता डकुमेन्टलाई खोल्न वा लेख्न त्यस डकुमेन्ट प्रणालीका निर्माताले बनाएको सफ्टवेयर नै चाहिने हुन्छ। उदाहरणको लागि .doc फाइल ठीक तरिकाले खोल्नका निम्ति Microsoft Word नै चाहिने हुन्छ। यसले गर्दा धेरै नै समस्याहरू आउने हुन्छ।
सर्वप्रथम त, बन्द डकुमेन्ट प्रणालीका कारणले गर्दा कुनै एक सफ्टवेयरमा बाँधिएर बस्नु पर्ने हुन्छ, जुन आफैमा नराम्रो कुरा हो। यसरी कुनै सफ्टवेयरमा बाँधिएर बस्नुका दीर्घकालीन समस्याहरू हुने गर्दछन्। जस्तै कि तपाईँले निकै वर्ष देखि Microsoft Word को .doc फाइल प्रणालीको प्रयोग गर्नु हुन्छ भने भविष्यमा पनि यसै सफ्टवेयर प्रयोग गर्न बाध्य हुनु पर्छ। त्यस्तै अन्य राम्रा सफ्टवेयर उपलब्ध भए पनि बन्द प्रकारका डकुमेन्टकै कारणले आफुले प्रयोग गरिराखेकै सफ्टवेयर परिवर्तन गर्न गार्हो हुने गर्दछ। त्यसमाथि डकुमेन्टको प्रणाली परिवर्तन भएको खण्डमा त्यसको सफ्टवेयर पनि परिवर्तन हुने गर्दछ र प्रयोगकर्ता त्यस नयाँ सफ्टवेयर किन्न बाध्य हुनु पर्दछ। यसको सबैभन्दा जल्दो बल्दो उदाहरण पनि Microsoft को Word नै रहेको छ। हरेक नयाँ सँस्करण सँग .doc को प्रणाली परिवर्तन हुने गर्दछ, र त्यसलाई पुरानो सफ्टवेयरले खोल्न नसक्ने हुन्छ। यसका कारण नयाँ सफ्टवेयर किनेर कम्प्युटरमा हाल्नै पर्ने तथा आफ्ना पुरानो डकुमेन्टलाई पनि नयाँ प्रणालीमा परिवर्तन गरिराख्नु पर्ने हुन सक्छ।
यस्ता बन्द प्रकारका डकुमेन्टको प्रयोग गर्नाले आफूलाई मात्र नभइ अरुलाई पनि अप्ठ्यारोमा पार्ने हुन्छ। कुनै पनि डकुमेन्ट प्रयोग गर्ने पनि निश्चित सफ्टवेयर नै हुने गर्दछ। त्यसैले यस्ता डकुमेन्ट अरुलाई पठाउँदा डकुमेन्ट प्राप्त गर्ने व्यक्तिसँग त्यस सफ्टवेयर नभएको खण्डमा समस्या उत्पन्न हुन सक्छ।
बन्द डकुमेन्टको प्रयोग गर्दा सुरक्षाको पनि प्रश्न उठ्न सक्छ। बन्द प्रणालीका डकुमेन्टमा के कुरा कसरी राखिन्छ भन्ने कुराको जानकारी नभएका कारणले गर्दा त्यस डकुमेन्ट सुरक्षात्मक दृष्टिकोणबाट पनि उपयुक्त नहुन सक्छ। त्यस्तै यस्ता बन्द डकुमेन्टले गर्दा कम्प्युटरमा भाइरस तथा अन्य समस्या पनि नआउला भन्न सकिन्न। Microsoft Word तथा Excel मा लाग्ने भाइरस पनि यसैको उपज हुन्।
सामान्य रुपमा डकुमेन्ट भन्दा धेरैले Microsoft Word वा Excel का फाइल भन्ने बुझ्ने गर्दछन। तर डकुमेन्ट भन्नाले अन्य फोटो तथा संगीतका डकुमेन्टलाई पनि बुझाउने गर्दछ। जस्तै हामी धेरैले फोटो भण्डारण गर्न प्रयोग गर्ने BMP प्रणाली पनि बन्द प्रणाली हो। त्यस्तै गीतहरू भण्डारण गर्न प्रयोग गरिने MP3 लाई पनि बन्द प्रणाली मान्ने गरिन्छ।
डकुमेन्ट स्वतन्त्रता तथा बन्द डकुमेन्टको यति जानकारी पछि खुला डकुमेन्टका केही उदाहरण तिर लागौ। हामी धेरैले प्रयोग गर्ने .doc फाइल प्रणालीको सट्टामा .odt (अर्थात् Open Document Text) प्रयोग गर्न सकिन्छ। यस डकुमेन्ट प्रयोग गर्नका निम्ति धेरै सफ्टवेयरहरू रहेका छन्। सबैभन्दा राम्रो तथा चर्चित सफ्टवेयरमा Openoffice.org को Writer भन्ने सफ्टवेयर रहेको छ। त्यस्तै अर्को धेरै प्रयोग हुने .xls को सट्टामा .ods (अर्थात Open Document Spreadsheet) डकुमेन्ट प्रणाली रहेको छ। यसको निम्ति प्रयोग हुने सफ्टवेयर Openoffice.org को Spreadsheet नामको सफ्टवेयर रहेको छ।
त्यस्तै फोटो अनि सङ्गीतका निम्ति पनि खुला डकुमेन्ट प्रणालीहरू रहेका छन्। MP3 को सट्टामा OGG Vorbis नामको प्रणालीको प्रयोग गर्न सकिन्छ। त्यस्तै BMP वा GIF को सट्टामा PNG वा SVG प्रयोग गर्न सकिन्छ।
बन्द डकुमेन्टका धेरै फाइदाहरू हुने गर्दछन्। सबैभन्दा प्रमुख फाइदा स्वतन्त्रता नै हुने गर्दछ। खुला डकुमेन्ट प्रणाली प्रयोग गर्दा कुनै एक सफ्टवेयरमा बाँधिएर बस्नु पर्ने समस्या प्रयोगकर्तालाई हुँदैन। त्यस्तै आफूले प्रयोग गर्ने सफ्टवेयरको नयाँ सँस्करण निकालिएमा आफ्नो पनि सफ्टवेयर परिवर्तन गरिराख्नुपर्ने समस्याबाट पनि मुक्त हुन सकिन्छ।
अर्को फाइदा भनेको पारदर्शिता हो। डकुमेन्टको प्रणाली पूर्ण रुपले खुला हुने हुँदा त्यसको प्रयोग तथा आदानप्रदानमा पनि पारदर्शिता रहने गर्दछ। बन्द प्रकारका सफ्टवेयरका कारणले गर्दा आफ्नो कम्प्युटरका गोप्य सूचना त्यस बन्द फाइलको माध्यमबाट बाहिर जाने पिर पनि गरिराख्नु पर्दैन। यसै डकुमेन्टको पारदर्शिताका कारणले गर्दा भाइरस जस्ता समस्याबाट पनि धेरै हदसम्म बच्न सकिन्छ। खुला डकुमेन्टकै प्रयोगबाट अहिले केही हदसम्म रहिआएको डिजिटल एकाधिकारबाट पनि बच्न सकिन्छ।
ब्लु टूथ प्रविधि
Bluetooth
यदि तपाई मोबाइल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँले Bluetooth को बारेमा पक्कै पनि सुन्नु भएको होला। सामान्यतया मोबाइल र कम्प्युटरको बीचमा फाइल आदानप्रदान गर्न प्रयोग हुने यस प्रविधिको माध्यमबाट फाइल आदानप्रदान गर्ने मात्र नभइ अन्य विभिन्न कार्यहरू गर्न सकिन्छ। यसै Bluetooth प्रविधि तथा यसको विभिन्न उपयोगिताको बारेमा केही चर्चा गरौँं।
Bluetooth अत्यन्त कम बिजुली खपत गर्ने छोटो दुरीको वायरलेस प्रविधि हो। यसरी छोटो दुरीमा रहेका कम्प्युटर तथा मोबाइल उपकरणहरूको बीच तार रहित सञ्जालको प्रयोग गरि Bluetooth प्रविधिद्वारा फाइल देखि श्रव्य-दृश्य सम्म आदानप्रदान गर्ने कार्य गर्न सकिन्छ। Bluetooth नाम डेनमार्कका राजा Harold Bluetooth बाट लिइएको हो। राजा Harold ले डेनमार्क, स्वीडेन तथा नर्वेलाई एकीकरण गर्ने कार्य गरेका थिए। यसरी नै विभिन्न कम्प्युटर तथा अन्य उपकरणहरूलाई एकै प्रकारको सञ्जाल प्रविधिले एकीकरण गर्ने उद्देश्यका निम्ति Bluetooth प्रविधिको विकास भएको हो। Bluetooth को सवैभन्दा रमाइलो पक्ष भनेको यसको ताररहित प्रविधि नै हो। Bluetooth को माध्यमद्वारा कुनै दुई उपकरणहरूको बीच सूचना आदानप्रदान गर्दा ती उपकरणहरूलाई एक अर्काको signal समात्ने ठाउँमा जता राखेपनि हुन्छ। जसले गर्दा तारका कारणले हुने झन्झट तथा उपकरणहरू राखिएको डेस्क फोहोर हुने समस्याबाट पनि बच्न सकिन्छ।
Bluetooth को प्रयोग मोबाइलमा फाइल आदानप्रदान गर्न धेरै प्रयोग हुने गरे तापनि यसको प्रयोग विभिन्न प्रयोजनका निम्ति हुने गर्दछ। मोबाइल प्रयोगकर्ताहरूका निम्ति Bluetooth, wireless headset को रुपमा पनि प्रयोग हुने गर्दछ। यस्ता wireless headset ले तपाईँको मोबाइल फोनसंग Bluetooth को माध्यमद्वारा आवाज आदानप्रदान गर्ने गर्दछ, जसको फलस्वरुप मोबाइल फोन खल्तीमै हाली wireless headset मात्र कानमा अड्काएर मोबाइलमा कुरा गर्न सकिन्छ।
धेरैले Bluetooth को प्रयोग मोबाइलमा मात्र हुने देखे पनि यसको प्रयोग कम्प्युटरमा पनि गर्न सकिन्छ। अचेल Bluetooth को माध्यमद्वारा कम्प्युटरसँग सम्पर्क गर्न सकिने किबोर्ड तथा माउसहरू उपलब्ध छन्, जसको माध्यमद्वारा किबोर्ड तथा माउसलाई तारको माध्यमद्वारा कम्प्युटरमै जोडिराख्नुपर्ने झन्झट हुँदैन। त्यस्तै यस्ता Bluetooth किबोर्ड तपाईँको मोबाइलमा टाइप गर्नका निम्ति पनि प्रयोग गर्न सकिन्छ।
Bluetooth लाई दुई वा दुई भन्दा बढी कम्प्युटर नेटवोर्किङ्ग गर्न पनि प्रयोग गर्न सकिन्छ। Bluetooth प्रणाली आफैमा पनि एक नेटवर्किङ्ग प्रणाली भएकाले अन्य कार्यका निम्ति Bluetooth को प्रयोग गर्दा पनि एक प्रकारको सञ्जालकै प्रयोग हुने गर्दछ।
त्यस्तै अचेलका नया प्रिन्टरहरूमा पनि Bluetooth को सुविधा हुने गरेको छ, जसले गर्दा बिना तारनै प्रिन्टर र कम्प्युटरलाई जोड्न सकिन्छ। अचेलका केही नयाँ फोन तथा क्यामेरामा पनि Bluetooth को सुविधा हुने भएकाले कम्प्युटरमा नजोडि सिधै Bluetooth को माध्यमद्वारा तस्विरहरू प्रिन्ट गर्न सकिन्छ।
त्यस्तै Bluetooth प्रविधिको माध्यमद्वारा आफ्नो मोबाइल फोनलाई रिमोट कन्ट्रोलको रुपमा पनि प्रयोग गर्न सकिन्छ। यसरी मोबाइलबाटै कम्प्युटरमा बजिरहेको गीत परिवर्तन गर्ने देखि लिएर कम्प्युटरका विभिन्न गतिविधिहरू पनि सञ्चालन गर्न सकिन्छ।
यी त भए Bluetooth का केही प्रयोगहरू। अब लागौ Bluetooth प्रविधि तर्फ। Bluetooth २.५ गिगाहर्ज को रेडियो फ्रिक्वेन्सीमा चल्ने गर्दछ। Bluetooth अन्यन्त कम दुरी १० मिटरका चल्ने गर्दछ र यसको गति ३०० किलोबाइट प्रति सेकेण्ड हुने गर्दछ। Bluetooth सञ्चालन हुने २.५ गिगाहर्ज को रेडियो फ्रिक्वेन्सीले कडा बस्तु जस्तै भित्ता पनि पार गर्न सक्ने हुनाले Bluetooth उपकरणहरूले एक देखि अर्को कोठामा पनि वायरलेस सम्पर्क गर्न सक्दछ।
Bluetooth को प्रयोग हुने कुनै दुई उपकरण तदर्थ रुपमा बन्ने नेटवर्क को माध्यमद्वारा जोडिने गर्दछन्। Bluetooth प्रविधि भएका कुनै दुई उपकरणहरू संगै ल्याउदा ती उपकरणहरूले एक अर्कालाई चिनेर तत्कालै एक सञ्जालको माध्यमद्वारा जोडिने गर्दछन्। यस्ता सञ्जाललाई Ad-hoc Network भन्ने गरिन्छ। त्यस्तै आफ्नो दुरीबाट बाहिर गएमा त्यस्तो नेटवर्क तुरुन्तै टुट्ने पनि गर्दछ।
कुनै दुई Bluetooth भएका उपकरणहरू network मा जोडिएपछि ती दुई बीचमा फाइल आदानप्रदान गर्ने देखि लिएर बिभिन्न कार्यहरू गर्न सकिन्छ। यस्ता फरक फरक कार्य गर्नका निम्ति छुट्टा छुट्टै तरिकाहरू हुने गर्दछन्। यस्ता तरिकाहरूलाई प्रोटोकल भन्ने गरिन्छ। उदाहरणको निम्ति फाइल पठाउन, Bluetooth किबोर्ड तथा माउस प्रयोग गर्न अनि मोबाइल फोनलाई मोडेमको रुपमा प्रयोग गर्न छुट्टाछुट्टै प्रोटोकल हरू रहेका छन्।
Bluetooth को यति जानकारी पछि यसको प्रयोग कम्प्युटरमा कसरी गर्ने भन्ने तिर लागौ। अचेलका नयाँ ल्यापटपहरूमा Bluetooth को सुबिधा आन्तरिक रुपमै हुने भए तापनि डेस्कटप कम्प्युटरमा यो सुविधा नहुन पनि सक्छ। यसका निम्ति सानो पेनड्राइभ आकारको Bluetooth dongle नामको उपकरणको प्रयोग गर्नु पर्दछ। यस्ता उपकरणहरू बजारमा सजिलै किन्न पाइन्छन्।
यदि तपाई विन्डोज xp को SP2 भन्दा पहिलेको सँस्करण चलाउनुहुन्छ भने Bluetooth चलाउनका निम्ति Bluetooth dongle सैगै उपलब्ध हुने driver software कम्प्युटरमा हाल्नु पर्ने हुन्छ। तर यदी तपाई विन्डोज xp SP2 वा यो भन्दा नयाँ सँस्करणको प्रयोग गर्नु हुन्छ भने Bluetooth dongle लाई USB मा हाल्ने बित्तिकै यसको प्रयोग गर्न सक्नु हुन्छ।
त्यस्तै तपाई लिनक्सको प्रयोग गर्नु हुन्छ भने पनि यसमा Bluetooth को अत्यन्त राम्रो सुविधा रहेको छ, जसका निम्ति कुनै driver हालीरहनुपर्ने झन्झट हुदैन।
यसरी Bluetooth dongle कम्प्युटरमा हालीसकेपछि कम्प्युटरलाई मोबाईल वा कुनै कम्प्युटरसंग जोड्नका निम्ति pairing गर्नु जरुरी हुन्छ। pairing भन्नाले सामान्य रुपमा बुझ्दा कुनै दुई उपकरणहरूको बीच सूचना आदानप्रदान गर्न स्वीकृति प्रदान गर्नु भन्ने बुझिन्छ।
तत्कात वायरलेस सञ्जाल सुरु गर्न सक्ने भएकाले Bluetooth को सुरक्षामा पनि विशेष ध्यान दिइएको छ। कुनै दुई Bluetooth उपकरणहरू जोड्दा pairing गर्नु जरुरी हुन्छ। त्यस्तै दुई Bluetooth उपकरणहरूले सूचना आदानप्रदान गर्दा सूचनालाई encrypt पनि गर्न सकिन्छ।
तर यति हुँदा हुँदै पनि Bluetooth उपकरणहरूमा सुरक्षाका केही समस्याहरू देखा परेका छन्। मोबाइलहरूमा लाग्ने Bluetooth virus हरु यसैका उदाहरणहरू हुन्। यस्ता भाइरस तथा अन्य सुरक्षा सम्बन्धी समस्याहरू बाट बच्ने सबै भन्दा सजिलो उपाय नचाहिएको बेला आफ्नो मोबाइल वा कम्प्युटरको Bluetooth बन्द गर्नु नै हो। Bluetooth चलाइराख्नु परेमा पनि मोबाइल वा कम्प्युटरलाई Bluetooth को माध्यमद्वारा पत्ता लगाउन नसकिने अर्थात् discovery mode लाई बन्द गर्नु नै राम्रो हुन्छ।
Bluetooth को माध्यमद्वारा स-साना उपकरणहरू बीचको सूचना आदानप्रदान तथा तारका कारणले हुने झन्झटबाट मुक्ति पाउन सकिन्छ। Bluetooth को क्षेत्रमा निकै नै कार्य भैसकेतापनि यो प्रविधि अहिले पनि बिकासको क्रममा नै छ। Bluetooth का आउँदा सँस्करणहरूले १०० मिटरको दुरी सम्म काम गर्ने तथा १०० मेगाबाइट प्रति सेकेन्डको गतिमा पनि कार्य गर्ने बनाउनका निम्ति अनुसन्धानहरू भैरहेका छन्। यसरी आउँदा दिनहरूमा Bluetooth को माध्यमद्वारा कम्प्युटरमा केबल बिजुलीको तार मात्र जोडे पुग्ने तथा अन्य सबै उपकरणहरू Bluetooth को माध्यमद्वारा जोडिने नहोला भन्न सकिन्न।
1 comment:
i really Feeling this our vurtual word. i join this type of programming. yes i can?
bebhaa roya
Post a Comment