Saturday, February 6, 2010

सभ्यतागत विज्ञान र "पेटेन्टको" लडाइँ By Source

सभ्यतागत विज्ञान र "पेटेन्टको" लडाइँ



विज्ञान अविरल प्रवाहमान् धारा हो । यो क्रमबद्ध ज्ञान-संचयको श्रृंखला हो । हामीले बुझ्नुपर्ने कुरा के छभने औपचारिक प्रयोगशाला ल्याबोरेटरी मा बसेरमात्र वैज्ञानिक अनुसन्धान गरिने होइन; यो त हामी प्रत्येकको दैनिकी पनि हो । जस्तोकि प्रसिद्ध भारतीय वैज्ञानिक रघुनाथ अनन्त माशेलकर भन्नुहुन्छ- व्यावहारिक अनुभव पहिले हुन्छ र त्यसलाई व्याख्या गर्नेवाला वैज्ञानिक सिद्धान्त त्यसपछि बनिन्छन् । प्रायः प्रविधि पहिले आउँछ र विज्ञान तत्पश्चात् । हामीलाई पांग्रा बनाउन पहिल्यै आउँथ्यो र त्यसपछिमात्र गति विज्ञानको विकास भएको हो । वाष्प-ईन्जिजन पहिले बनेका थिए र थर्मोडाइनामिक्स त्यसपछिमात्र । शताब्दीयौं वा सहस्राब्दीयौं देखिनै मान्छेले प्राकृतिक जीवनको प्रयोगशालामा अनेकौं परीक्षण (Test), प्रयोग (Experiment), एवम् पर्यवेक्षण (Observation) गर्दै
  आइरहेको छ र आफ्नो ज्ञानको परिधि निरन्तर विस्तार गरिरहेछ । अचेल त्यही परम्परागत ज्ञान प्रणालीलाई समानान्तर वा स्वदेशी वा सभ्यतागत भनेर नामाकरण गरिएको पाइन्छ । सभ्यतागत विज्ञानलाईपनि महत्व दिनुपर्छ भन्ने आवाजहरु मुखरित हुँदैछन । तथापि सामान्यतया परम्परागत विज्ञान र आधुनिक विज्ञानलाई एक-अर्काको प्रतिद्वन्द्वी ठान्ने जस्तो गलत धारणा अझैसम्मपनि हट्न नसकेको स्थिति छ ।

विज्ञान तथ्य (Fact) मा आधारित हुन्छ । यो वस्तुनिष्ठ (Objective) हुन्छ र यसलाई सत्यापन (Verification) गर्न सकिन्छ । परीक्षण प्रयोग एवम् पर्यवेक्षण गर्न सकिने हुनाले वैज्ञानिक ज्ञानलाई विश्वसनीय मानिन्छ । विज्ञानका यी गुणहरु आधुनिक वैज्ञानिक पद्धतिमा जति सहजै दृष्टिगोचर हुन्छन् यता परम्परागत पद्धतिमा समयक्रममा केही अवैज्ञानिकता घुसेको पनि हुनसक्छ । कतिपय अवस्थामा त परम्परागत पद्धतिमा रहेका वैज्ञानिकतालाई अवैज्ञानिकताले पुरै दबाइसकेकोपनि हुन्छ । त्यो अवैज्ञानिकताको पत्रलाई खुर्केर वैज्ञानिकतालाई उजागर गर्नुपर्नेमा प्रायः परम्परागत पद्धतिलाई अन्धविश्वास वा रुढीवाद मानेर अस्वीकार गर्ने प्रवृत्तिले सभ्यतागत विज्ञान र आधुनिक विज्ञानलाई एक-अर्काको प्रतिद्वन्द्वी ठान्ने गलत धारणालाईनै मलजल गरिरहेको छ ।

प्रसिद्ध वैज्ञानिक चिन्तक टी.एच. हक्सलीले सन् १८८१ मा भनेको कुरा अहिले झन् मननीय छ- आफ्ना पूर्वजहरुको उपहास गर्न सजिलै छ तर हाम्रालागि लाभकारी कुरोचाहिँ यो पत्तो पाउनुमा छकि हाम्रा पूर्वज -जो हामीभन्दा कम समझदार पक्कै थिएनन्- ले आजका दिनमा हामीलाई बेतुकका र निरर्थक प्रतीत हुने विचारहरु किन अवलम्बन गरेका हुँदाहुन् ! प्रसिद्ध भारतीय वैज्ञानिक माशेलकरले भनेझैंनै भूतकालको त्यो पद्धतिलाई आधुनिक विज्ञानको उपयोग गरी बुझ्ने प्रयत्न गर्नु बुद्धिमानीपूर्ण कार्य हुनेछ । प्राचीन विचार एवम् परिकल्पना र आधुनिक वैज्ञानिक खोजहरु बीचमा रहेको अर्थपूर्ण सह-सम्बन्ध पत्तो पाउनुपनि आजको वैज्ञानिक कर्मको एक प्रमुख प्राथमिकतामै पर्नु पर्दछ ।

आधुनिक विज्ञान र सभ्यतागत विज्ञान बीचमा अप्राकृतिक छेकबार खडा गरेर स्थानीय समुदायलाई उसको मूलबाट असम्बद्ध गराइदिने र यसैको परिणामस्वरुप आयातित प्रविधिमा हदैसम्म निर्भर हुन बाध्य तुल्याइदिने प्रकृया कथित भूमण्डलीकरण ग्लोबलाइजेसन सँगै अझ बढेको छ । स्थानीय समुदाय सभ्यतागत विज्ञान-प्रविधिबाट विमुख हुँदैगर्दा पूँजीवादी बजारका खेलाडीहरुचाहिँ पेटेन्ट दर्ता गराई स्थानीय सभ्यतागत ज्ञानलाई बलात् कब्जा गरिरहेका छन् । एक अमेरिकी कम्पनीले हलेदो हल्दीको पेटेन्टलाई यसरीनै हडपेपछि भारतले लडेको पेटेन्ट-लडाइँ भारतमा जसलाई हल्दी घाटीको दोस्रो लडाइँ पनि भन्ने गरिन्छ यहाँनेर स्मरणीय छ । भारतले प्राचीन संस्कृत साहित्य सहित सबै प्रमाणहरु पेश गरेपछि अमेरिकी पेटेन्ट कम्पनी बलियो प्रमाणका सामुन्ने पराजित भएको थियो । सो मुद्दामा हाम्रो देश नेपालकोपनि प्रत्यक्ष सरोकार हुनुपथ्र्यो किनकि हलेदो्/बेसारको प्रयोग हाम्रोपनि सभ्यतागत पद्धति हो । तर नेपालमा सरकार चलाएर बसेका तथा कर्मचारीतन्त्रमा रहेकाहरुसँग यस्तो सुद्धि-बुद्धि भइदिएको भए त हाम्रो देशको यो बेहाल किन हुँदो हो र ! धन्न भारतकै भएपनि बेलैमा होश खुल्यो र आधुनिक विश्व इतिहासमै शायद पहिलोपल्ट तेस्रो विश्वुको एक राष्ट्रले अमेरिकासँग सभ्यतागत विज्ञानको अधिकार प्राप्तिकालागि लडाइँ गरी विजय हासिल गरिछाड्यो । एवम्रितले नीम र बासमतीका पेटेन्ट सम्बन्धी संघर्षहरु पनि यहीँनेर स्मरणीय छन् ।

वल्र्ड इन्टेलेक्चुएल प्रोपर्टी अर्गनाइजेसन विश्व बौद्धिक सम्पदा संघले पारम्परिक ज्ञानको प्रयोग तथा स्थानीय बौद्धिक सम्पदा र प्रविधिलाई मान्यता दिनुपर्छ भन्ने स्वीकार गरिसकेको आजको अवस्थामा हाम्रो नेपालजस्तो शताब्दीयौं वा सहस्राब्दीयौं प्राचीन परम्परा भएको देशले पछि पर्नुपर्ने कुनै कारण छैन । आज भारत लगायत कतिपय राष्ट्रहरु तुलनात्मक रुपमा पहिलेभन्दा निक्कै सजग भएका छन्- आफ्नो सभ्यतागत प्रविधिलाई अमेरिकी वा युरोपेली लगायतका अन्यपनि कम्पनीहरुले पेटेन्टको जालमा पार्ने सम्बन्धमा । भारत सरकारले ट्रेडिसनल नलेज डिजीटल लाइब्रेरी सृजित गर्नेतर्फ कार्य शुरु गरेको बताइएको छ जसका कारण प्राचीन संस्कृत ग्रन्थका श्लोकमा निहीत ज्ञान र वाशिंगटनमा पेटेन्ट-परीक्षकको कम्प्युटर स्क्रीनको बीचमा रहेको पर्खाल भत्काउन मद्दत मिल्ने आशा उनीहरुले लिएका छन् । तर हाम्रो देश नि यहाँ कसलाई छ त यस्तो चिन्ता ?




विज्ञान प्रविधि नीतिको आवश्यकता

- नेपाल विकासको बाटोमा ज्यादै पछाडि धकेलिएको मुलुक हो । सन् ६० को दशकसम्म नेपालकै हाराहारीमा रहेका मुलुकहरू आज आर्थिक विकास र जनताको जीवनस्तरमा सुधार ल्याउन निकै हदसम्म सफल भइसकेका छन् । नेपाल भने उही कछुवा गतिमै अगाडि बढिरहेको छ । यदि नेपाललाई साँच्चिकै विकासको मार्गमा अघि बढाउने हो र जीवनस्तरमा महत्त्वपूर्ण परिवर्तन ल्याउने हो भने कृषि, स्वास्थ्य, उद्योग, शिक्षा, यातायात, सञ्चार क्षेत्रको प्रबर्द्धन र विकासमा ध्यान पुर्‍याउनु जरुरी छ । यसका लागि हामीले विज्ञान र प्रविधिको अत्यधिक उपयोग गर्नुपर्छ । यो कार्य तबमात्र सम्भव हुन्छ, जब राज्यले विज्ञान प्रविधिको विकासलाई राष्ट्रिय विकासको अपरिहार्य औजारको रूपमा ग्रहण

गर्छ । ०३९ सालमा आजकै दिन अध्यादेशमार्फत स्थापना भएको नास्ट २७ औं वर्षमा प्रवेश गरेको छ ।

विज्ञान प्रविधिको अवस्थाबारे कुरा गर्दा केही अनुसन्धान र विकाससम्बन्धी कार्यहरू निजी स्तरका पेसागत संघ-संस्थाहरूद्वारा सम्पन्न भएको पाइन्छ । तर यातायात, सञ्चार, स्वास्थ्य, ऊर्जा र वातावरणजस्ता क्षेत्रहरू जसले सार्वजनिक हित र कल्याणसँग प्रत्यक्ष सरोकार राख्छ, यिनमा निजी स्तरका संघ-संस्थाहरूको सहभागिता रहने भए तापनि सरकारको भूमिका नियामक र निर्देशात्मक हुनुपर्ने विज्ञहरूको धारणा रहेको पाइन्छ । धेरैजसो विकासोन्मुख मुलुकहरूमा राष्ट्रिय वैज्ञानिक क्षमताको विकास र प्रविधि हस्तान्तरणका लागि संस्थागत संरचनाहरूको स्थापना गर्नु सरकारको प्रमुख दायित्व रहन्छ । तर नेपालले भने अझै पनि यस्ता विकाससम्बन्धी गतिविधिहरूको नियमन, सञ्चालन र समन्वयका लागि कुनै भरपर्दो संयन्त्रको विकास गर्नसकेको देखिँदैन । त्यसमाथि वैज्ञानिक समुदाय यसमा सचेत रहेको

पाइँदैन ।

विकासको आधारभूत उद्देयहरू परिपूर्तिका लागि उपयुक्त प्रविधिको छनोट अपरिहार्य हुन्छ । आधिकारिक र भरपर्दो निकायको अभावले नेपालमा उपयुक्त प्रविधिको यथोचित छनोट र मूल्यांकन हुनसकिरहेको छैन । सामाजिक र आर्थिक विकासमा वैज्ञानिक ज्ञान र अनुभवको उपयोगिताका लागि गरिने प्रयासहरूमा बाधा-व्यवधानहरू आउँछन् । कतिपय व्यवधानहरू सामाजिक, आर्थिक र राजनीतिक प्रकृतिका हुने गर्छन् । प्रविधिको क्षमता र सम्भावनासम्बन्धी ज्ञानबारे हाम्रा नेताहरू कम चासो राख्छन् । न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्न होस् अथवा रोजगारीको अवसरमा वृद्धि ल्याउन स्वदेशी साधन बढी प्रयोग हुने प्रविधिको अनुसन्धान र विकासतर्फ ध्यान दिनु

आवश्यक छ ।

अझै पनि ठूलो जनसंख्या शिक्षाको अवसरबाट वञ्चित र परम्परागत विचारधाराबाट ग्रसित छ । यसले सामाजिक रूपान्तरणको प्रक्रियामा अवरोध पुर्‍याउँछ । विज्ञान प्रविधिको उचित प्रयोगद्वारा सामाजिक विकास प्रक्रिया अघि बढाउन अति आवश्यक छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा पिछडिएका जनताको आधारभूत आवश्यकतातर्फ बढी ध्यान दिनुपर्ने हुन्छ । यसले स्थानीय सीप र प्रविधि पबर्द्धन र विकास गर्न उत्प्रेरित गर्छ ।  साथै परम्परागत कलाकौशल र सीपको प्रबर्द्धन गर्न र आधुनिक परिस्थिति सुहाउँदो वैज्ञानिक पद्धतिमा रूपान्तरण गर्न मद्दत पुर्‍याउँछ । मुलुकलाई आवश्यक प्रविधि स्थानीय श्रम तथा सामग्री प्रयोग हुने, अर्थिक दृष्टिकोणले लाभदायक, प्रयोगमा ल्याउन सकिने, भौगोलिक अवस्थाअनुरूप सजिलै अपनाउन सकिने कुरालाई ध्यानमा राखी भित्र्याउनुपर्ने देखिन्छ । यसका लागि एउटा छुट्टै र दरिलो विज्ञान प्रविधि नीति भए यी कुराहरूको विकास र व्यवस्थापनलाई निर्देशित गर्न सजिलो हुने थियो  ।

ढिलै भए पनि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान -नास्ट) ले विज्ञान प्रविधि नीति तर्जुमा गरेको छ । तथापि यसमा केही परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएकाले यो अहिले छलफलकै क्रममा रहेको उपकुलपति प्रा.डा. होमनाथ भट्टराई बताउनुहुन्छ । नीतिले विज्ञान प्रविधि विकाससम्बन्धी उद्देश्यहरू परिपूर्तिका लागि वैज्ञानिक तथा प्राविधिज्ञहरूलाई उचित र पर्याप्त प्रोत्साहन गरिनुपर्छ र साथै ती लगानीकर्ताहरू जसले स्थानीय खोज अनुसन्धानका आधारमा उत्पादनहरू उपयोग गर्छन्, उनीहरूलाई यथोचित सुविधाहरू प्रदान गरिनु उपयुक्त हुने धारणा विज्ञहरूको छ ।

यस्ता नीति तथा कार्यक्रमहरू देशको समग्र नीति र योजनासँग आबद्ध हुनुपर्छ ।  यसका लागि राष्ट्रिय आर्थिक विकास र योजना निर्माणमा वैज्ञानिक र प्राविधिज्ञहरूको सक्रिय सहभागिता हुनुपर्छ । नास्टले अब प्रचारमुखी क्रियाकलापमा समय र बजेट खर्चनुभन्दा वैज्ञानिक अध्ययन, अनुसन्धान तथा जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरूमा केन्दि्रत रहनुपर्ने देखिन्छ ।